जनकल्याण माविकाे ६७ औं स्थापना दिवस सम्पन्न
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले सोमबार आफ्नो ६७ औं वार्षिकोत्सव अर्थात् स्थापना दिवस कार्यक्रम सम्पन्न भएकाे छ । विद्यालयद्वारा विविध कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिका क्षेत्रभित्र सञ्चालित विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि नगरपालिकामार्फत आवश्यक पहल थालिएको बताउँदै विद्यालयको चौतर्फी विकासको साथमा शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ ध्यान दिन सुझाव दिनु भएकाे थियाे ।
कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले वडामार्फत शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, पूर्वाधार निर्माणलगायत विविध क्षेत्रको विकासमा जोड दिइएको जानकारी दिनु भएकाे थियाे । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष माधवप्रसाद रेग्मी, पुलाचौर समाज काठमाडौंका अध्यक्ष डम्बरबहादुर केसी, विद्यालयका भूतपूर्व प्रधानाध्यापक नारायण पौडेल र जनकल्याण मावि अक्षयकोषका अध्यक्ष गजिन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वार्षिकोत्सवको अवसर पारेर विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षकद्वय मोहन जिसी र शान्ति शर्मालाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो । यसैगरी मालिका गाउँपालिका–७, विममा सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगितामा द्वितीय भई नगद ३५ हजार पुरस्कार पाउने विद्यालयका खेलाडी र जिल्लास्तरीय बत्तृmत्वकला प्रतियोगितामा सान्त्वना भएका विद्यार्थीहरुलाई पनि वार्षिकोत्सवमा सम्मान गरिएको थियाे ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुको बीचमा बेलुन फुटाउने प्रतियोगिता, गणितीय दौड, अंग्रेजी हिज्जे प्रतियोगिता तथा अभिभावकहरुको बीचमा अन्धनिशान प्रतियोगिता तथा म्युजिकल चियर, विद्यार्थी, शिक्षक तथा अभिभावक सम्मान कार्यक्रम गरिएको थियो । त्यस्तै उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनुका साथै विद्यार्थीहरुले गीत, सङ्गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा खेलकुदलगायत वार्षिक परीक्षामा उत्कृष्ट भएका र विभिन्न विधातर्फ उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई मेडल र स्टेशनरीसहित पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँको अध्यक्षता र प्रधानाध्यापक कमलप्रसाद पौडेलले स्वागतसहित विद्यालयको बारेमा प्रकाश पारेको वार्षिकोत्सव कार्यक्रमको सञ्चालन सहायक प्रअ शिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।
No comments